अजित कुमार भुजेल , बिरगंज । नेसनल एकेडेमी क्याम्पस, वीरगंजले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार वीरगंज–१६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवामा अध्ययनरत कक्षा १० की ३५ जना छात्राहरुलाई नयाँ कपडा वितरण गरेको छ।
कार्यक्रम नेसनल एकेडेमी क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा सम्पन्न भएको थियो भने वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यायको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कलेजका निर्देशक राजकुमार सहनी, ठाकुरराम क्याम्पसका प्राध्यापक इन्दुशंकर मिश्र, वडा नं. १६ की वडा सदस्य लवनी देवी, विद्यालयका शिक्षक अजय साह, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी हरेन्द्र यादव, कलेजका पुस्तकालय प्रमुख सुरज शर्मा लगायत स्कुल तथा कलेजका शिक्षक–विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वरिष्ठ समाजसेवी उपाध्यायले शिक्षा नै राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै छात्राहरूलाई मेहनती बन्न प्रेरणा दिए। उनले विद्यालयको उन्नतिको लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कलेज परिवारलाई वार्षिकोत्सवको शुभकामना समेत दिए।
त्यसैगरी, कलेज प्रमुख साहले समाजको समुन्नतिका लागि छोरीहरूलाई शिक्षामा अग्रसर गराउनुपर्नेमा जोड दिंदै आफूले विद्यालयका केही शिक्षकहरूलाई पढाएको स्मरण गर्दै कलेज परिवार सदैव विद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए।
प्राध्यापक इन्दुशंकर मिश्रले अनुशासन, सयंम र गुरुका उपदेशलाई जीवनमा आत्मसात गर्न आग्रह गर्दै शिक्षा नै सफलताको आधार भएको उल्लेख गरे।
कार्यक्रमका सहजिकर्ता तथा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले विगत ६ वर्षदेखि विपन्न तथा पीडित वर्गका लागि कपडा वितरणलगायत सेवा कार्य गर्दै आएको जानकारी गराउँदै कलेज परिवारलाई सहयोगका लागि धन्यवाद दिए।
विद्यालयका शिक्षक अजय साहले अतिथिहरूप्रति कृतज्ञता व्यक्त गर्दै भावुक ढंगमा नयाँ कपडालाई मायाको प्रतिकको रूपमा स्वीकार गर्दै विद्यालय र कलेजको दीर्घ सम्बन्धको शुभकामना व्यक्त गरे।
नेसनल एकेडेमी क्याम्पसको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई आत्मबल र प्रेरणा दिने विश्वास लिइएको छ।