अजित कुमार भुजेल, वीरगंज ।
“परिवर्तनको लागि विमर्श” भन्ने नाराका साथ बिरगंज युवा समाजले एक विशेष कार्यक्रममार्फत SEE परीक्षामा ४.०० GPA ल्याउने पर्सा जिल्लाका सामुदायिक विद्यालयका एक मात्र विद्यार्थी सचिन मेहतालाई नगद, सम्मानपत्र तथा दोसल्ला ओढाई भव्य सम्मान गरेको छ।
कार्यक्रम बिरगंजस्थित होटल मकालुको सभा हलमा सम्पन्न भएको थियो। कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षता तथा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यता रहेको थियो।
सचिन मेहताले त्रिजुद्ध माध्यमिक विद्यालयबाट SEE परीक्षा दिएका थिए। उनको उत्कृष्ट नतिजाले सामुदायिक विद्यालयको शैक्षिक क्षमताको परिचय गराएको अध्यक्ष थापाले बताए।
कार्यक्रममा पब्लिक टेक फाउण्डेशनका निर्देशक महावीर जैसवालले समाजका अध्यक्षलाई प्रायोजित टी-सर्ट हस्तान्तरण गरेका थिए। ती टी-सर्टहरू कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र समाजका सम्पूर्ण सदस्यहरूलाई वितरण गरियो।
कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, फोटो पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष पंकज श्रेष्ठ, डा. मनोज उपाध्याय, डा. प्रिटी यादव, सुभद्रा राणा भट्टराई, बिनोद धिमाल, पूर्ण गुरुङ, मनोज गुप्ता लगायत विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए। यो सम्मान कार्यक्रमले स्थानीय प्रतिभा र सामुदायिक शिक्षाको सम्मानमा थप योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।