अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फैलिएको जथाभावी पार्किङलाई व्यवस्थित गर्न कडाइका साथ अभियान सुरु गरेको छ ।
पछिल्लो समय बस, सुमो तथा अन्य सार्वजनिक सवारी साधनहरू मनपरी रूपमा पार्किङ गरिँदा बसपार्क अस्तव्यस्त बन्न थालेको गुनासो आम नागरिक तथा यात्रुहरूबाट आएकोले पार्किङ अव्यवस्थाले यात्रुहरूलाई आवतजावतमा अप्ठ्यारो हुने, ट्राफिक जाम सिर्जना हुने र सार्वजनिक स्थानमा अव्यवस्था बढ्ने जस्ता समस्या देखिन थालेपछि महानगरले टोली परिचालन गरी व्यवस्थापनको पहल गर्न गर्न थालेको हो ।
महानगरपालिकाको टोलीले लामो समयदेखि संचालनमा नरहेका र बेवारिसे रूपमा बसपार्कमै छाडिएका दुई वटा बसहरूलाई क्रेनमार्फत डोरीले तानेर हटाएको छ । ती बसहरू कुनै चालक वा सवारीधनीको सम्पर्कबिना बसपार्कमै थन्क्याइएको अवस्थामा थिए । यसरी सवारी साधनहरू छाडेर बेवास्ता गर्नेलाई कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले बसपार्क सार्वजनिक सम्पत्ति भएकाले यसलाई व्यवस्थित, सुरक्षित र यात्रु–मैत्री बनाउने दायित्व महानगरले लिएको स्पष्ट पार्नुभयो । उहाँले बसपार्कको संचालनमा संलग्न साझेदार संस्थालाई आवश्यक निर्देशन दिँदै सवारी साधनहरू निश्चित स्थानमा मात्र पार्किङ गर्न र अव्यवस्थित रूपमा गाडी नछोड्न अनुरोध गर्नुभएको छ ।
त्यसैगरी, बसपार्कको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । फोहोरमैला व्यवस्थापनदेखि दैनिक सरसफाइसम्मका कामलाई थप प्रभावकारी बनाउन महानगरले सरसफाइ कर्मचारी तथा निगरानी टोली परिचालन गरेको छ । यात्रुहरूको सुविधा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै सार्वजनिक स्थानमा स्वच्छता कायम राख्न महानगर प्रतिबद्ध रहेको सरसफाई तथा हरियाली संयोजक प्रकाश खेतानले बताउनुभयो । उहाँका अनुसार यो अभियानलाई एकदिने क्रियाकलापको रूपमा नभई निरन्तर चलाइने बताए ।